दफा ५०४
करार भएको मानिने

(१) दुई वा दुई भन्दा बढी व्यक्तिहरूबीच कुनै काम गर्न वा नगर्नका लागि कानून बमोजिम कार्यान्वयन गर्न सकिने कुनै सम्झौता भएमा करार भएको मानिनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि एक व्यक्तिले अर्को व्यक्ति समक्ष करार गर्न राखेको प्रस्तावमा त्यसरी प्रस्तावित व्यक्तिले स्वीकृति जनाएपछि करार भएको मानिनेछ ।
(३) करार भएपछि करारका पक्षहरूबीच वाध्यात्मक कानूनी सम्बन्ध कायम हुनेछ ।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि :-
(१) “प्रस्ताव” भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रायले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ ।
(२) “स्वीकृति” भन्नाले प्रस्तावका कुराहरू प्रस्तावकले जुन अर्थमा प्रस्ताव गरेको छ सो कुराका सम्बन्धमा प्रस्तावित व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनु पर्छ ।